निर्बाचन आयोगमा बुझायो देउवा समूहले १५ औं महाधिवेशन कार्यतालिका
काठमाडौं,१४ असार । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी आफ्नो छुट्टै कार्यतालिका निर्वाचन आयोगलाई औपचारिक रूपमा जानकारी गराएको छ । देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको नेता एनपी साउदले जानकारी दिएका छन् ।

पत्रमा वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रस्तावित कार्यतालिका र महाधिवेशनसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषय समेटिएको बताइएको छ । देउवा समूहका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि तथा पार्टी विधानमा रहेको व्यवस्थाअनुसार १५औँ महाधिवेशन आयोजना गर्न लागिएको हो ।
समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुनेछ । त्यसपछि असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ ।
यस्तै, मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने देउवा समूहको कार्यतालिका छ ।
‘हामी अधिवेशन गर्दैछौँ भनेर पत्र निर्वाचन आयोगमा दर्ता गरेका छौँ,’ साउदले भने, ‘पत्रमा महाधिवेशनको तिथिमितिसहितका विवरण खुलाएका छौँ ।’
देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयसमेत आयोगलाई पठाइएको पत्रमा उल्लेख गरेको जनाएको छ । उक्त विषयमा सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि अनुमति पाएको प्रसंग पनि पत्रमा समेटिएको उल्लेख छ ।
महाधिवेशन सम्पन्न भएपछि त्यसबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिको नामावलीसमेत निर्वाचन आयोगमा पठाएर अभिलेख अद्यावधिक गराउने जानकारी देउवा समूहले आयोगलाई गराएको छ ।
यससँगै नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर समानान्तर रूपमा दुईवटा प्रक्रिया अघि बढेका छन् । संस्थापन पक्षले यसअघि नै असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने कार्यतालिका सार्वजनिक गरिसकेको छ भने देउवा समूहले त्यसको विकल्पमा असोज १५ गतेदेखि छुट्टै अधिवेशन प्रक्रिया सुरु गर्न लागेको हो ।
पार्टीको आधिकारिकता र महाधिवेशनको वैधानिकतासम्बन्धी विवादका कारण कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवाद थप जटिल बनेको छ ।
file foto




