कांग्रेस वडा अधिबेशनले दिएको एकता,उत्साह र पुस्तान्तरणको सन्देश
✍️नवीन थापा


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन अब सम्पन्न हुने चरणमा पुगेको छ। प्राविधिक कारणले केही जिल्लाका केही वडा अधिवेशन मात्रै बाँकी छन्। ती अधिवेशन पनि पार्टीभित्रको आन्तरिक विवाद वा कलहका कारण रोकिएका होइनन्। समग्रमा हेर्दा यसपटकको वडा अधिवेशनले नेपाली कांग्रेसको संगठनात्मक जीवनमा नयाँ उत्साह, एकता र सहमतिको सन्देश दिएको छ।
अधिवेशन केवल नेतृत्व चयन गर्ने एउटा नियमित प्रक्रिया मात्र होइन, पार्टीको संगठनात्मक अवस्था, कार्यकर्ताको मनोभाव र भविष्यको राजनीतिक दिशालाई बुझ्ने महत्वपूर्ण अवसर पनि हो। यस अर्थमा सम्पन्न वडा अधिवेशनहरूबाट प्राप्त सन्देश उत्साहजनक छ। विगतमा रहेका गुट–उपगुटका विभाजनलाई बिर्सिएर आपसी सहमति र समझदारीका आधारमा नेतृत्व चयन हुनु कांग्रेसजनमा बढेको एकता र राजनीतिक परिपक्वताको संकेत हो।
विभिन्न विचार र समूहबीचको प्रतिस्पर्धा लोकतान्त्रिक पार्टीको स्वाभाविक प्रक्रिया हो। तर प्रतिस्पर्धालाई कटुतामा होइन, सहकार्य र सहमतिमा रूपान्तरण गर्न सक्नु संगठनको शक्ति हो। सम्पन्न वडा अधिवेशनमा देखिएको सहमति, एकता र उत्साहले कांग्रेसभित्रको संगठनात्मक ऊर्जा पुनः जागृत हुँदै गएको अनुभूति गराएको छ। पार्टीलाई आजको अवस्थासम्म ल्याइपुर्याउने नेतृत्व र देशभरका कांग्रेस कार्यकर्ताबीच निर्माण भएको यो वातावरण आफैंमा महत्वपूर्ण उपलब्धि हो।
यसपटकको वडा अधिवेशनको अर्को उल्लेखनीय पक्ष नेतृत्वमा देखिएको पुस्तान्तरण हो। अधिकांश वडामा सभापति तथा क्षेत्रीय प्रतिनिधिका रूपमा युवा अनुहारहरू सर्वसम्मत रूपमा स्थापित भएका छन्। यो केवल व्यक्तिको परिवर्तन होइन, कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सक्रिय सहभागिता र जिम्मेवारीप्रतिको आकर्षणको संकेत पनि हो।
पछिल्लो समय नेतृत्वमा पुस्तान्तरण हुन नसकेको गुनासोका कारण युवा पुस्तामा राजनीतिक निराशा बढेको चर्चा हुने गरेको छ। राजनीतिमा सम्भावना र अवसर नदेख्दा धेरै युवाहरू देशभित्रै आफ्नो भविष्य खोज्नुभन्दा बाहिर जाने बाटो रोजिरहेका छन्। यस्तो परिस्थितिमा पार्टीको तल्लो तहबाटै युवालाई नेतृत्वको जिम्मेवारीमा स्थापित गर्नु नेपाली कांग्रेसका लागि महत्वपूर्ण सन्देश हो।
वडा भनेको कांग्रेसको संगठनको सबैभन्दा आधारभूत र जीवन्त तह हो। त्यही तहमा नयाँ पुस्ता नेतृत्वमा आउनु भनेको कांग्रेसको भविष्यप्रतिको विश्वासलाई बलियो बनाउनु हो। युवालाई जिम्मेवारी दिनु मात्र पर्याप्त हुँदैन; उनीहरूको विचार, ऊर्जा, क्षमता र सिर्जनशीलतालाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा पनि जोड्न आवश्यक छ।१५औँ महाधिवेशनले यही भावनालाई अझ संस्थागत गर्न सक्नुपर्छ। वडा अधिवेशनबाट देखिएको एकता, सहमति र युवा सहभागितालाई महाधिवेशनको आगामी चरणमा पनि निरन्तरता दिन सकियो भने कांग्रेसको संगठन थप गतिशील, समावेशी र जीवन्त बन्ने आधार तयार हुनेछ।
त्यसैले सम्पन्न हुँदै गरेका वडा अधिवेशनलाई केवल अधिवेशनको एउटा चरणका रूपमा मात्र हेर्नु हुँदैन। यो कांग्रेसभित्र नयाँ आशा, नयाँ ऊर्जा र पुस्तान्तरणको सम्भावना बोकेको महत्वपूर्ण सुरुवात हो। विगतका तिक्तता र विभाजनलाई पछाडि छाड्दै एकताबद्ध कांग्रेस निर्माण गर्ने अवसरका रूपमा १५औँ महाधिवेशन अघि बढ्न सकेमा यसले पार्टीको संगठनात्मक पुनर्जागरणमा महत्वपूर्ण कोशेढुंगा स्थापित गर्न सक्नेछ।
(लेखक थापा नेपाली कांग्रेसको हालै सम्पन्न वडा अधिबेशनमा सर्बसम्मत निर्बाचित क्षेत्रीय प्रतिनिधि हुन्)


