डा. रेखा यादव ‘निर्झर’द्वारा लिखित ‘प्रश्न’ कथाकृति लोकार्पित



काठमाडौं,५ असोज । डा. रेखा यादव ‘निर्झर’द्वारा लिखित नेपाली तथा हिन्दी भाषाका २२ कथा समेटिएको कथाकृति ‘प्रश्न’ काठमाडौंमा लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री शरतसिंह भण्डारी, समालोचक प्रमोद प्रधान, प्रा.डा. विनोदकुमार विश्वकर्मालगायत साहित्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कथाकृति लोकार्पण गरिएको हो।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र यादवले राजनीतिक परिवर्तन भए पनि सामाजिक तथा आर्थिक परिवर्तन अझै अपेक्षित रूपमा हुन नसकेको बताए। सामाजिक तथा आर्थिक लोकतन्त्रबिना राजनीतिक स्थायित्व कायम हुन नसक्ने उल्लेख गर्दै उनले सामाजिक चेतना अभिवृद्धिमा लेखक, कवि तथा कलाकारको महत्वपूर्ण भूमिका रहने बताए।

समालोचक प्रमोद प्रधानले ‘प्रश्न’ डा. यादवको पाँचौँ कृति तथा पहिलो कथाकृति भएको जानकारी दिँदै कथाहरू समाजमा देखिएका र भोगिएका विषयवस्तुमा आधारित रहेको बताए। उनका अनुसार कथाकृतिमा नारी संवेदना, महिला अस्मिता, समानता, दाइजो प्रथा, यौनिक अल्पसंख्यकका पीडा, वैदेशिक रोजगारी तथा सामाजिक सञ्जालबाट सिर्जित सम्बन्ध र पीडालगायत विषय समेटिएका छन्।

प्रा.डा. विनोदकुमार विश्वकर्माले कथाकृतिमा समेटिएका हिन्दी भाषाका कथाबारे हिन्दीमै टिप्पणी गरेका थिए। अध्यक्ष लेकालीले डा. यादवको साहित्यिक व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै नेपाली, हिन्दी, मैथिली र अंग्रेजी भाषामा उनको लेखन सक्रियता रहेको बताए।

लेखकीय मन्तव्यमा डा. यादवले आफूले हालसम्म २१ वटा पुस्तक लेखिसकेको भए पनि धेरै कृति प्रकाशन हुन नसकेको बताइन्। साहित्य सिर्जनाका लागि आर्थिक पक्ष पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ‘प्रश्न’का कथामार्फत पाठकसामु जवाफभन्दा प्रश्न प्रस्तुत गर्न खोजिएको बताइन्।

कार्यक्रममा डा. यादवलाई साहित्यिक पत्रकार संघका तर्फबाट सम्मान गरिएको थियो। साथै पुस्तक प्रकाशक बलराम महतोलाई सम्मान तथा आमन्त्रित व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। भोटेकोसी बाढीमा निधन भएकाहरूको सम्झनामा कार्यक्रममा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्