रसुवा बाढीमा १,३५६ जनाको मृत्यु, अझै ४,९९४ जना सम्पर्कविहीन



काठमाडौं,२२ भदौ । रसुवा लगायत विभिन्न जिल्लामा आएको त्रिशूली बाढी र पहिरोमा परी हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी अझै ४ हजार ९ सय ९४ जना सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३ सय ६३ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा २ सय २३, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान खुलेको छ । पहिचान हुन बाँकी शवको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित कागजातसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

विपदमा परी हालसम्म ६ हजार ६ सय ७६ जना घाइते भएका छन् । त्यसमध्ये ३ सय २७ जनाको विभिन्न १० वटा अस्पतालमा उपचार भइरहेको छ भने २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।

प्राधिकरणका अनुसार सम्पर्कविहीनमध्ये नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, सुरक्षाकर्मी तथा कर्मचारी १ सय र विदेशी पर्यटक ५ सय ८७ जना छन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरीका ४ हजार २ सय ३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्