सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने भिडियो सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ
काठमाडौं,२२ भदौ । सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र प्राकृतिक विपत्तिप्रति खुशी व्यक्त गर्ने अभिव्यक्तिसहितको भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार २०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी आपत्तिजनक भिडियो सामग्री तयार पारेर सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण गरिएको थियो।
उक्त भिडियो सामग्रीमा जातजातिलाई होच्याउने, अपमानित गर्ने तथा बाढीका कारण भएको जनधनको क्षतिमा खुशी व्यक्त गर्ने किसिमका अभिव्यक्ति समावेश रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
नेपाल प्रहरीको सम्बन्धित ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त भिडियो सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान खुलेपछि जिल्ला बैतडी, सुर्नया गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई हाल काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बु बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ब्यूरोबाट खटिएको टोलीले मडैलाई २०८३ भदौ २० गते पक्राउ गरेको हो।
पक्राउ परेका मडैमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ। यसका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमार्फत कुनै जातजाति, समुदाय वा समूहलाई लक्षित गरी घृणा, अपमान तथा सामाजिक सद्भाव र सहिष्णुतामा असर पुग्ने सामग्री प्रसारण नगर्न पनि नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।
(फोटो : नेपाल प्रहरी )

