रसुवा बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति
काठमाडौं,१८ भदौ । भाद्र १० गते आएको विनाशकारी रसुवाको भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ। बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको छ भने बाँकी तीनवटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको एनसेलले जनाएको छ।

यसैबीच, एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका ग्राहकलाई यो सुविधा दिइएको हो। कम्पनीका अनुसार सोमबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
साथै, ब्यालेन्स टपअप नगरेका कारण सेवा बन्द भएका २५ हजारभन्दा बढी सिमसमेत पुनः सक्रिय गरिएको एनसेलले जनाएको छ। एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा विपद्सम्बन्धी जनचेतनामूलक कल टोन तथा एसएमएससमेत प्रसारण गर्दै आएको छ।

