रसुवा बाढी : १ हजार २०४ जनाको शव फेला, ४ हजार २ सयभन्दा बढी अझै सम्पर्कविहीन
काठमाडौं,१७ भदौ । रसुवा बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २०४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले २०८३ भदौ १७ गते साँझ ६ बजेसम्मको खोज, उद्धार तथा राहत अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा परी करिब ४ हजार २ सय १६ जना अझै सम्पर्कविहीन रहेको जनाएको हो।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३४८ जनाको शव फेला परेको छ। त्यसैगरी नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत समावेश रहेको प्राधिकरणले जनाएको छ। हालसम्म ९५ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ।
बाढीपछि सम्पर्कविहीन हुनेमा रसुवामा मात्र करिब ८६५ जना रहेको जिल्ला विपद् व्यवस्थापन सम्बन्धी प्राप्त विवरणमा उल्लेख छ। त्यसैगरी नुवाकोटमा करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, विदेशी नागरिक तथा पर्यटकसँगै गएका नेपाली नागरिकसमेत रहेका छन्।
प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १४ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्। विदेशी नागरिक ५८३ जना तथा विदेशी पर्यटकसँगै गएका नेपाली १६४ जना सम्पर्कविहीन छन्।
विभिन्न जलविद्युत् आयोजनाबाट करिब ९०० जना,लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना, क्वारेन्टाइन कार्यालयबाट ३ जना,जनप्रतिनिधि ७ जना तथा स्थानीय तह वा अन्तर्गतका ३२ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
हालसम्म बाढीबाट ३०१ जना घाइते भएका छन्। तीमध्ये १९५ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको उपचार जारी रहेको प्राधिकरणले जनाएको छ। घाइतेको उपचार तथा स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण प्राधिकरणको फेसबुक तथा वेबसाइटमा उपलब्ध रहेको बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीको व्यापक परिचालन गरिएको छ। हालसम्म २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएकोमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रहेका छन्।हालसम्म कुल ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ४५३ जना विभिन्न होल्डिङ सेन्टरमा राखिएका छन्। नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, काठमाडौंमा ३२९ र धादिङमा २६० जना होल्डिङ सेन्टरमा रहेका छन्।
बाढीपछि खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाइएको र सम्पर्कविहीन व्यक्तिको खोजी कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

