माटोले पुरिएको अवस्थामा टिमुरेको एकै स्थानमा भेटिए ९८ शव
रसुवा,१७ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवाको टिमुरे क्षेत्रमा खोज तथा उद्धारका क्रममा माटोले पुरिएको अवस्थामा ठूलो संख्यामा शव फेला परेका छन्।

खोजीका क्रममा टिमुरेमा एकै स्थानबाट ९८ वटा शव भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढी र पहिरोले पुरिएको क्षेत्रमा लामो समयदेखि जारी खोजीका क्रममा ती शव फेला परेको बताइएको छ।
बाढीले टिमुरेसहित नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीको भेलसँगै बगेका तथा पहिरोमा पुरिएका कारण धेरै मानिस अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ।
फेला परेका शवको अवस्था र पहिचान यकिन गर्ने काम भइरहेको छ। शव पहिचानका लागि डीएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइने तयारी छ।
यसअघि पनि बाढी प्रभावित क्षेत्रमा विभिन्न स्थानबाट शव फेला पर्दै आएका थिए। तर एकै ठाउँमा ९८ वटा शव भेटिनु घटनाको मानवीय क्षतिको भयावह तस्वीरका रूपमा देखिएको छ।
उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत माटो तथा भग्नावशेष हटाएर खोजी कार्य जारी राखेको छ। बाढीले सडक, पुल, विद्युत् आयोजना तथा अन्य संरचनासमेत ध्वस्त पारेपछि प्रभावित क्षेत्रमा उद्धार र शव खोजी चुनौतीपूर्ण बनेको छ।

