उद्धार टोलीसहित भारतले पठायो ५.५ टन विशेष उपकरण र औषधि



काठमाडौं,१७ भदौ । भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग पुर्‍याउन ११ सदस्यीय उद्धार टोली पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले बुधबार उद्धार टोली नेपाल पठाइएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

“भारतीय विमान नेपालका लागि प्रस्थान गरेको छ,” विदेशमन्त्री जयशंकरले भनेका छन्, “यसले ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधिहरू बोकेको छ ।”

भारतले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री नेपाललाई उपलब्ध गराइसकेको छ ।

भारतले यसअघि बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका टनेल (सुरुङ)मा फसेका व्यत्तिहरूको खोज तथा उद्धार गर्न भारतबाट २४ जना विज्ञ प्राविधिक नेपाल पठाइसकेको छ ।

डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फोरेन्सिक टोलीले अगस्ट २९ देखि नेपाली अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ । भारतले २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ ।

भारतले २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज यसअघ नै नेपालमा पठाएको थियो । साथै, भारतले थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्