सुनकोशी र बुढीगण्डकीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह



काठमाडौं,१८ भदौ । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी र गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले दुवै नदीका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बुधबार बिहान ६ बजेको मापनअनुसार सुनकोशी नदीको खुर्कोट जलमापन केन्द्रमा जलसतह ७.६२ मिटर पुगेको छ। उक्त केन्द्रको सतर्कता तह ७.५० मिटर र जोखिम तह ८.६० मिटर रहेको छ।

त्यस्तै, गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतह ३.६ मिटर पुगेको छ। त्यहाँको सतर्कता तह ३.५ मिटर र जोखिम तह ४ मिटर रहेको छ। आरुघाटमा जलसतह घट्दो क्रममा रहे पनि सतर्कता तहभन्दा माथि छ।

बाढी पूर्वानुमान महाशाखाले यी नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्