शोक र पीडाको समयमा राजनीतिक लाभ खोज्नु उचित हुँदैन : ओली
काठमाडौं,१४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय रहेको बताएका छन्।

आइतबार महासचिव शंकर पोखरेलले भदौ १० गते बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको क्षतिको स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले राष्ट्रिय शोकको घडीमा राजनीति नगरी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले शोक र पीडाको समयमा राजनीतिक लाभ खोज्नु उचित नहुने उल्लेख गर्दै सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्ने बताए। उनका अनुसार विपद्को यस्तो अवस्थामा नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।
अध्यक्ष ओलीले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँगै विभिन्न सङ्घसंस्था तथा परोपकारी व्यक्तिहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे। तर वर्तमान अवस्थामा सरकारले राज्यका स्रोत–साधन र क्षमतालाई केन्द्रित गरेर राखेको आरोप लगाउँदै ओलीले प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय हुन नसकेको टिप्पणी गरे।
‘सरकारले राज्यको सामर्थ्य कब्जा गर्यो। अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो,’ ओलीले भने, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्दथ्यो।’
अध्यक्ष ओलीले विपद् व्यवस्थापनमा श्रेय लिने प्रतिस्पर्धा नगर्ने विषयमा सबै राजनीतिक दलबीच सहमति भइसकेको भए पनि केही निजी तथा सामाजिक संस्थाहरूलाई खोज तथा उद्धार कार्यमा समेत अवरोध गरिएको दाबी गरे।
कार्यक्रममा उनले भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै बागमती प्रदेश सरकारलाई धन्यवादसमेत दिए।

