शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधानमन्त्री राहत कोषमा साढे ३ लाख सहयोग



दावा जाङ्बु शेर्पा,काठमाडौं,१४ भदौ ।नेपालको भोटेकोसी नदीमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि शेर्पा संघ दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान गरेको छ। संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.३ लाख ४८ हजार ८८३ जम्मा गरेको हो।

विपद्को घडीमा मातृभूमिका नागरिकलाई मलम लगाउने उद्देश्यले संघले सञ्चालन गरेको विशेष सहयोग अभियानमार्फत ३१ लाख ८१ हजार १७५ कोरियन वन (₩३,१८१,१७५) संकलन भएको थियो। उक्त संकलित रकम अगस्ट ३०, २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा सहयोग गरिएको शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष दोर्जे शेर्पाले जानकारी दिनुभयो ।

उक्त मानवीय सहायता रकम संकलनमा शेर्पा संघ दक्षिण कोरियाको संस्थागत योगदानसँगै प्रवासमा रहेका संघका संरक्षक,सल्लाहकार,आजीवन सदस्य, साधारण सदस्य,कार्यसमितिका पदाधिकारीहरू तथा विभिन्न मनकारी नेपाली समाजसेवीहरूको व्यक्तिगत आर्थिक योगदान समावेश रहेको छ।
सहयोग रकम हस्तान्तरण गर्दै संघले देशमा आएको प्राकृतिक महाविपत्तिमा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र प्रभावितहरूको सुरक्षित पुनर्स्थापनाको कामना समेत गरिएको छ।

“भौगोलिक रूपमा मातृभूमिभन्दा टाढा रहे पनि देशलाई संकट पर्दा ऐक्यबद्धता जनाउनु र नेपालीको दुःखमा साथ दिनु हाम्रो मानवीय एवं सामाजिक दायित्व हो,” संघका महासचिव निम्नुरि खापा शेर्पाले बताए। आर्थिक पारदर्शीता र जवाफदेहीतालाई उच्च प्राथमिकता दिँदै संघले कोषमा रकम जम्मा गरेको आधिकारिक बैंक भौचर समेत सार्वजनिक गरेको छ।

शेर्पा संघ दक्षिण कोरियाले आफ्नो आह्वानलाई स्वीकार गरी यस परोपकारी अभियानमा स्वतःस्फूर्त रूपमा आर्थिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण पदाधिकारी, सदस्य, दातृ निकाय, समाजसेवी एवं सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्