चीन–नेपाल सीमा क्षेत्रमा पहिरोले बनाएको करिब १४ वटा फुटबल मैदान बराबरको ‘ब्यारियर लेक’ फेला



काठमाडौं,१४ भदौ । चीन–नेपाल सीमा क्षेत्रमा पहिरोले बनाएको करिब १४ वटा फुटबल मैदान बराबरको ‘ब्यारियर लेक’ नियन्त्रणमा आएको छ ।

चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यम सीजीटीएनका अनुसार अगस्ट २९ सम्मको अनुगमनमा करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको ‘ब्यारियर लेक–०१’ नियन्त्रणमा रहेको पाइएको हो ।

चिनियाँ Anneng Group को अनुगमन तथ्यांकअनुसार उक्त जलाशय करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हो ।

पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि बनेको उक्त जलाशयबाट पानी विस्तारै बाहिरिँदै गएको र जलाशयको आकार घटिरहेको चिनियाँ अधिकारीहरूले यसअघि बताएका थिए । पछिल्लो अवस्थाले अचानक जलाशय फुटेर ठूलो बाढी आउने जोखिम कम भएको संकेत गरेको छ ।

यसैबीच, पहिलो जलाशयभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को ‘ब्यारियर लेक–०२’ समेत पहिचान गरिएको छ । चिनियाँ अधिकारीहरूले दोस्रो जलाशय पहिलोभन्दा ठूलो हुन सक्ने बताएका छन् । यसको क्षेत्रफल १ लाख २० हजार वर्गमिटरभन्दा बढी रहेको अनुमान गरिए पनि गहिराइबारे भने यकिन भइसकेको छैन ।

जलाशयको जोखिम मूल्यांकन तथा अनुगमनका लागि चीनको सरकारी इन्जिनियरिङ तथा उद्धार संस्था China Anneng ले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेसन र मोबाइल निगरानी क्यामेरासहितको टोली परिचालन गरेको छ । टोलीले जलाशयको अवस्था निरन्तर निगरानी गरिरहेको छ ।

यसअघि जलाशयबाट पानी ओभरफ्लो हुँदा केही समय उद्धार तथा खोजी कार्य प्रभावित भएको थियो । तर पछिल्लो मूल्यांकनपछि जोखिम व्यवस्थापनयोग्य रहेको ठहर गर्दै उद्धार कार्य पुनः सञ्चालन गरिएको थियो ।

चिनियाँ पक्षले पहिलो जलाशयको अवस्था नियन्त्रणमा रहेको बताए पनि दुवै जलाशय पूर्ण रूपमा खाली नभएसम्म बाढीको जोखिम कायमै रहने भन्दै निरन्तर निगरानी गरिरहेको छ । विशेषगरी वर्षा जारी रहेमा जलाशयमा पानीको मात्रा बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राखिएको छ ।

गत बुधबार हिमाली क्षेत्रमा भएको हिमनदी तथा चट्टान खस्ने घटनापछि आएको भीषण बाढी र पहिरोले नेपाल–चीन सीमा क्षेत्रका बस्ती, सडक तथा सीमा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्