पाकिस्तानले नेपालका बाढीपहिरो पीडितका लागि आपतकालीन राहत पठाउने
काठमाडौं,१३ भदौ । उत्तरी नेपालमा तिब्बत सीमा नजिकै आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानले गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले हालै उत्तरी नेपालमा आएको आकस्मिक बाढी र पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन रहेकाहरू सुरक्षित रूपमा परिवार तथा आफन्तको सम्पर्कमा फर्कने आशा व्यक्त गरेका छन्।
राष्ट्रपति जरदारीले विपद्को यस कठिन घडीमा पाकिस्तान नेपालका जनता र सरकारको साथमा रहेको बताएका छन्।
यसैबीच,पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गरी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
कुराकानीका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले कठिन परिस्थितिमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन राहत सहायता नेपाल पठाउने जानकारी दिएका छन्।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको कुराकानीमा पाकिस्तानी प्रधानमन्त्रीले विपद्बाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै पाकिस्तान सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका हुन्।
उत्तरी नेपालमा आएको बाढी तथा पहिरोका कारण भएको क्षतिपछि उद्धार तथा राहतका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट सहयोग र चासो बढिरहेको छ। पाकिस्तानले घोषणा गरेको आपत्कालीन राहत सहयोगले विपद् प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

