जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरुको उद्दारका लागि प्रयास जारी,आईपुग्यो भारतीय टोली



काठमाडौं,१३ भदौ । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि दुई दिनदेखि निरन्तर प्रयास भइरहेको छ।

शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ। सुरुङको मुखमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै उद्धार टोलीले भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ।

सुरुङभित्र मानिसहरू फसेको सूचना पाएलगत्तै सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको थियो। उद्धार कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० गरी ८२ सुरक्षाकर्मीको संयुक्त टोली निरन्तर खटिएको छ।

प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङको अवस्था र भित्र फसेकाहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्न उद्धार टोलीले प्रवेशद्वार खोल्ने कामलाई प्राथमिकता दिएको छ।

यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक हवाई अनुगमन गरी अवस्थाको मूल्यांकन गर्नेछ। त्यसपछि आवश्यकताअनुसार थप उद्धार कार्यमा सहयोग गर्ने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्