भोटेकोशी बाढी अपडेटः हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं,१० भदौ । भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा बुधबार साँझ ७ बजेसम्म ९५ जनाको शव फेला परेको सरकारले जनाएको छ । फेला परेका शवको सनाखत भने हुन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार बिहान ८:४० बजे भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन भइरहेको छ।बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीको पनि अवस्था अज्ञात छ ।
रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।बाढीका कारण भौतिक संरचनातर्फ पनि ठूलो क्षति भएको छ । हालसम्म १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
सरकारले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको जनाएको छ ।

