अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मौलिकता बोक्दै चलचित्र ‘अधुरो धुन : समयको सारङ्गी’



काठमाडौं,९ साउन । डिजिटल युगको रस्साकस्सी, कर्पोरेट दुनियाँको कठोर यथार्थ र आफ्नै घरभित्र बुबा–छोरोबीच बढ्दै गएको संवादहीनताको मनोवैज्ञानिक छटपटीलाई केन्द्रमा राख्दै निर्माण भइरहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘अधुरो धुन : समयको सारङ्गी’ को प्रि–प्रोडक्सनको काम अहिले तीव्र गतिमा अघि बढिरहेको छ।

Pat Team Collection Films Pvt. Ltd. को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका निर्माताहरू टिकाराम कट्टेल,एमटी थापा र रत्ना बिष्ट हुन्। चलचित्रको सम्पूर्ण कथा,पटकथा,संवाद,निर्देशन तथा शब्द–संगीत वेदप्रसाद भुर्तेलको रहेको छ भने मुख्य सहायक निर्देशक नवराज शर्मा हुन्। यस चलचित्रमा धनगढी कैलालीको होटल डिबोटी hospitality पार्टनरको रुपमा रहेको छ।

आजको आधुनिक जीवनशैली, प्रविधि र वैदेशिक रोजगारीले एउटै घरभित्रका पुस्ताहरूबीच सिर्जना गरेको भावनात्मक दूरी र त्यसले जन्माउने आन्तरिक छटपटीलाई यस चलचित्रले गहिरो रूपमा छुन खोजेको छ। यसमा सारङ्गी केवल एउटा बाजा मात्र नभई, हराउँदै गएको संवाद, पुर्खाले जोगाएको संस्कृति र आधुनिक संसारमा आफ्नो पहिचान खोजिरहेको नयाँ पुस्ताको बलियो प्रतीकको रूपमा उभ्याइएको छ। आधुनिक कर्पोरेट सहरको कृत्रिमता, प्रविधिको दौड र त्यसबाट उत्पन्न हुने मानवीय एक्लोपनलाई सुदूरपश्चिमको मौलिक धरातल तथा रैथाने जीवनसँग जोडेर एक पृथक् सिनेम्याटिक यात्राको रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रको सांगीतिक पक्षलाई अत्यन्त जीवन्त बनाइएको छ। कृत्रिम डिजिटल ध्वनिको साटो लाइभ बाजाहरूको प्रयोग गरिएका यस चलचित्रका गीत तथा ब्याकग्राउन्ड स्कोर (संगीत संयोजन: फडिन्द्र राई र महाराज थापा) लाई कथाको भावनात्मक मेरुदण्ड बनाइएको छ, जहाँ शब्दभन्दा संगीतले पात्रहरूको मौन पीडा बोल्नेछ।

चलचित्रमा मुख्य अभिनेताका रूपमा अमृत थापा र महत्त्वपूर्ण भूमिकामा राजन ऐर अनुबन्धित भइसकेका छन् भने अन्य कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिनेछ। अब एकजना नायक एकजना नायिका बजारमा चलेको राष्ट्र स्तरको हुने जनाइएको छ चाँडै नाम सार्वजनिक गरिनेछ।
नेपाली मौलिकता र गन्धर्व समुदायको सांगीतिक विरासतलाई अन्तर्राष्ट्रिय सिनेमाको भाषामा स्थापित गर्ने लक्ष्य यो चलचित्रले लिएको छ।

प्रतिक्रिया दिनुहोस्