लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )



काठमाडौं,८ साउन । लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ ।

हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अमेरिकाको न्युयोर्क आसपासका विभिन्न रमणीय स्थानमा गरिएको हो। भिडियोको छायांकन सम्पन्न गर्न करिब ७ महिना लागेको निर्माण पक्षले जनाएको छ।

निर्देशक सुब्बाका अनुसार भिडियोमा हिउँद, वर्षा र गर्मी गरी तीनै मौसम, साथै गाउँ–सहरको परिवेश र विभिन्न चाडपर्वलाई समेट्ने उद्देश्यले लामो समय लगाएर छायांकन गरिएको हो। करिब १० लाख नेपाली रुपैयाँ लागतमा निर्माण गरिएको यो भिडियो किशोर सुब्बाले अमेरिकामा निर्देशन गरेको सातौं म्युजिक भिडियो समेत हो।

गीतमा बिवस वेनामको शब्द, मनि ताम्लिङको संगीत, एरेन्ज, मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङ रहेको छ। स्वरमा सुनिता थेगिम र मनि ताम्लिङ रहेका छन्। भिडियोको कोरियोग्राफी चर्चित नृत्य निर्देशक गोबिन्द राईले गरेका हुन् भने छायांकन सम्राट कार्की र सुनिल मगरले गरेका छन्। रंग संयोजन (कलर ग्रेडिङ) राजेन्द्र मोक्तान र सम्पादन मन्दिल श्रेष्ठले गरेका हुन्।

भिडियोमा चर्चित मोडल तथा अभिनेत्री रन्जिता गुरुङ र सुमन लिम्बूको अभिनय रहेको छ।

यस म्युजिक भिडियो निर्माणमा किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात माङ्हिम न्युयोर्क, परण लिम्बू (न्युयोर्क) तथा धनुका लिम्बू (न्युयोर्क) लगायतले विशेष सहयोग गरेका छन्।

निर्देशक किशोर सुब्बाले दर्शक तथा श्रोताहरूलाई गीत हेरेर आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै ‘युप्पारुङ्…’ ले सबैको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्