पोखरामा होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन हुने



काठमाडौं,चैत्र २२ । होटल व्यवसायी महासंघ नेपालले आफ्नो १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८२ चैत २७ र २८ गते गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा आयोजना गर्ने भएको छ । महासंघले सम्बन्धित सबै संघसंस्था तथा पदाधिकारीलाई जानकारी दिँदै उक्त कार्यक्रम कास्की जिल्लाको पोखरामा सम्पन्न हुने जनाएको हो ।

महासंघका अनुसार साधारणसभामा अध्यक्षको संस्थागत मन्तव्य, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पारित गरिने छ । महासंघले प्रत्येक सदस्य संस्थाबाट ५ जना प्रतिनिधि र २ जना पर्यवेक्षक सहभागी हुन सक्ने व्यवस्था गरेको जनाएको छ । दुर्गम जिल्लाबाट आउने प्रतिनिधि तथा संस्थालाई भने उक्त शुल्कमा ५० प्रतिशत छुट दिइने महासंघले जनाएको छ । महासंघका महासचिव टी.आर. भण्डारी ‘शंकर’ ले एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया समयमै पूरा गरी कार्यक्रममा सहभागी हुन सबै सम्बद्धलाई आग्रह गरेका छन् ।

महासचिव भण्डारीले यो साधारणसभा केवल एक औपचारिक कार्यक्रममात्र नभई यसले आगामी दिनमा पर्यटन क्षेत्रको भविष्यसँग पनि जोडिने भएकाले त्यसबारे पनि छलफल र अन्तरक्रिया हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्