मौलिक कला संस्कृति संरक्षणमा कृष्ण रसालको जोड
काठमाडौं,१३ चैत्र । दुई दशकदेखि निरन्तर रूपमा नेपाली मौलिक कला सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नारासहित आयोजना गरेको १३ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ महेन्द्र पुलिस क्लबबाट सुभारम्भ भई चैत्र १३ गतेसम्म साताव्यापी रुपमा चलेको थियो ।

काठमाडौंका विभिन्न स्थलसहित पोखरा, ललितपुर, काभ्रेको पाँचखाल र बूढानीलकण्ठ क्षेत्रमा पनि कार्यक्रम आयोजना गरिएको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्थलमा समेत कार्यक्रम आयोजना गरिएको थियो भने शुक्रवार काठमाडौंको बसन्तपुर तथा हनुमानढोकामा सास्कृतिक र्याली सहितको कार्यक्रम सम्पन्न भएको छ ।
मेलामा इजरायल,जर्मनी,बोत्सवाना,इस्टोनिया,भारत,ताइवान,दक्षिण अफ्रिका र नेपाल लगायतका देशका २ सय ६० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली लोकसंगीतको प्रवद्र्धन गर्नुका साथै नयाँ पुस्तालाई देशको समृद्ध सांस्कृतिक सम्पदासँग जोड्नु रहेको आयोजक सदस्य मध्यका कृष्ण रसालले बताउनु भयोे । परिचित नृत्य निर्देशक समेत रहनु भएका रसालका अनुसार अन्तर्राष्ट्रिय पाहुना कलाकारहरुले विभिन्न परम्परागत बाजा बजाउँदै लोकनृन्यहरू प्रस्तुत गर्नुका साथै आधुनिक समयमा लोकसंगीत संरक्षणको महत्वबारे र परम्परागत कला, संस्कृतिप्रति सम्मान र चासो राख्न प्रेरित गरेका थिए ।
मेला काठमाडौं संस्करणको वज्र कला कुञ्ज र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजना र वडा नं. २३ कार्यालयको सह–आयोजनामा भएको हो ।
मेला प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हुँदै आएको छ । आयोजक संस्थाका अध्यक्ष आरसी (रामचन्द्र) कोइरालाले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति घट्दो चासो चिन्ताजनक भएकाले यही अवस्थालाई मध्यनजर गर्दै लोक संस्कृतिको प्रवद्र्धन र सांस्कृतिक पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको बताउनु भयो ।

