राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले आज शपथ लिंदै



काठमाडौं,२५ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज (फागुन २५) हुने भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गएको माघ ११ गते राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका निम्ति निर्वाचन भएको थियो ।

संघीय संसद् सचिवालयका अनुसार, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ । शपथग्रहणका निम्ति आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ ।

NMB Bank
नेपालीबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनानुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार, माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका छन् ।

मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् ।

यस्तै, वागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्