रुकुम पूर्बबाट संयोजक प्रचण्डले खोले नेकपाको खाता,एमाले अझै शून्य
काठमाडौं,२२ फागुन। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।
हालसम्म ६ क्षेत्रको नतिजा घोषणा भएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् ।
अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन ।
रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

