क्यान्सरबाट पीडित खत्रीलाई खोटाङ सेवा समाज काठमाडौंद्वारा आर्थिक सहयोग हस्तान्तरण



काठमाडौं,१७ फागुन । खोटाङ सेवा समाज काठमाडौंले एक विशेष कार्यक्रम आयोजना गरी मुखको क्यान्सरबाट पीडित खोटाङ जिल्ला बराहपोखरी जन्मेका हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आउनुभएका दीपक खत्री (बन्जरा), ३४ वर्ष, लाई उपचार सहयोगस्वरूप संकलित रकम हस्तान्तरण गरेको छ।

समाजका सदस्य तथा आर्थिक सहयोग समितिका नेपाल संयोजक लोकबहादुर खत्री र माधव खत्री तथा विदेशबाट खडिन्द्र खत्री र राजकुमार खत्रीको संयुक्त पहलमा सञ्चालन गरिएको सहयोग अभियानबाट हालसम्म रु. ७,२६,८३२ (अक्षरूपमा: सात लाख छब्बीस हजार आठ सय बत्तीस रुपैयाँ) संकलन भएको थियो। उक्त रकम बिरामीकै उपस्थितिमा समाजको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बाबुकाजी डंगोल (वडा अध्यक्ष,मध्यपुर ठिमी नगरपालिका वडा नं. १), गीता तिमल्सिना (केन्द्रीय अध्यक्ष, बन्जारा तथा बन्जाडे समाज नेपाल) लगायत समाजसेवी अष्टे कबे, केदार आले मगर, गोविन्द बल्लभ भट्ट आदिको उपस्थिति रहेको थियो। उनीहरूले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन समाजका महासचिव राजु एन राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष जगत प्रसाद घिमिरेले व्यक्त गर्नुभएको थियो। समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले मानवता, करुणा र सहकार्यको उदाहरण प्रस्तुत गर्न सबै एकजुट भएको उल्लेख गर्नुभयो।

अध्यक्ष खड्काले भन्नुभयो, “स्वास्थ्य नै जीवनको आधार हो। जब स्वास्थ्य कमजोर हुन्छ, तब परिवार, भविष्य र सपनाहरू सबै प्रभावित हुन्छन्। यस्तो अवस्थामा एउटा परिवारले एक्लैले सबै भार बोक्न अत्यन्त कठिन हुन्छ। तर जब समाज साथ दिन्छ, तब असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बन्न सक्छ। सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। हामी एकजुट भयौं भने उपचार सम्भव हुनेछ र एउटा जीवन फेरि मुस्कुराउन सक्नेछ।”

कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्