टिकटक प्रतियोगिता गर्दै निर्बाचन आयोग,पहिलो हुनेलाई ५० हजार पुरस्कार



काठमाडौं,८ फागुन । निर्बाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बिजयीहरुलाई २० देखि ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

सूचना अनुसार निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेटबराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । यही फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ ।

आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ । आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ ।

टिकटक भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ । आफ्ने मौलिक, अडियो र अभिनय भएको भिडियोलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ ।

निर्वाचनको सामान्य जानकारी,निर्वाचनको आवश्यकता, महत्व र मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्यका बारेमा जानकारी दिइएको हुनुपर्नेछ । यस्तै, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीजस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडियो बनाउनुपर्नेछ ।

कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन् । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडियो निर्माण गर्न सक्ने आयोगले जनाएको छ । त्यसरी प्राप्त भएका भिडियोमा आयोगको अधिकार रहनेछ ।

प्रतिक्रिया दिनुहोस्