पूर्ब राजा ज्ञानेन्द्र काठमाडौं फर्कंदै, बिमानस्थलदेखि निर्मल निबाससम्म सुरक्षा ब्यबस्था कडा
काठमाडौँ,१ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गर्ने भएका छन्। मौसमको कारण बुद्ध एयरको जहाज डिल भएकाले उनी अब कैलाश हेलिकप्टरमार्फत यात्रा गर्दैछन्।

उनी मध्यान्ह १२ बजे झापाबाट उड्नेछन् र करिब १ घण्टा १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। राजावादीहरूको स्वागतका लागि विमानस्थलमा तयारी भइरहेको छ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले पूर्व राजाको स्वागतमा आउन आव्हान गरेका छन् ।
स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने र त्यसको प्रभाव फागुन २१ मा हुने निर्वाचनमा पर्ने आकलन गरेर जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ ।
सुरक्षा योजना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवास सम्मको रुटमा २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरू खटिने छन् । फिल्डको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले गर्ने भएका छन् ।

