नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक



काठमाडौं,२७ माघ । नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् ।

नेकपाले यसपटक ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा बनाएको छ ।राजनीतिक मुद्दासँगै आर्थिक, सामाजिक र न्यायिक मुद्दा समेट्दै नेकपाले ४५ वृष्ठ लामो घोषणापत्रमा अबको पाँच वर्षमा देशको आर्थिक वृद्धिदर दोहोरो अंक (१० प्रतिशत) माथि पुर्‍याउनेदेखि मुलुकको गरिबी पाँच वर्षमा ५ प्रतिशतमा झार्ने योजना अघि सारेको छ ।

यस्तै, आर्थिक विकाससँगै सरकारी–निजी साझेदारीमा मुलुकभित्र रोजगारीको वृद्धि गर्दै प्रत्येक वर्ष कम्तीमा ५ लाखलाई रोजगारी दिनेगरी रोजगारी सिर्जना गर्ने पनि नेकपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको सन्दर्भमा, बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेश, आन्तरिक संरचनागत कमजोरी र गहिरिँदो असमानताकाबीच पुरानै नीतिगत ढाँचामा निरन्तरता दिनु अब न व्यवहारिक छ, न औचित्यपूर्ण। त्यसैले उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता र आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्ने नयाँ चरणको बृहत् र संरचनागत आर्थिक सुधार आजको ऐतिहासिक आवश्यकता बनेको छ’ नेकपाले जारी गरेको घोषणापत्रमा भनिएको छ ।

घोषणापत्रमै यसपटक नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिवद्धता जनाएको छ ।

घोषणापत्रमा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्