म कांग्रेसको उम्मेदवार भए पनि अहिले सबैको साझाजस्तो भएको छु : सचिन तिमल्सेना
काठमाडौं,माघ २६ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सचिन तिमल्सेनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ ।

युवा नेता तिमल्सेनाले उम्मेदवारी दिएपछि यो क्षेत्रमा चुनावी माहोल तातेको छ । उनी युवाका लागिमात्र होइन सबैको आशाका केन्द्र बनेका छन् । कांग्रेस सभापति गगनकुमार थापाले २०७० सालदेखि जित्दै आएको क्षेत्र हो यो । थापाले २०७०,२०७४ र २०७९ सालको संसदीय निर्वाचन जितेका थिए । सचिनको उम्मेदवारीलाई कांग्रेसवृत्तमा स्वाभाविक ढंगले हेरिएको छ । पार्टीमा रहेर लामो समयसम्म काम गरेको हुनाले पनि सभापति थापाले पत्याएर उनलाई टिकट दिएको बुझिएको छ ।
सभापति थापाले पटकपटक निर्वाचन जित्दै आएको क्षेत्र भएकाले पनि उनले बलियो उम्मेदवरलाई नै आफ्नो क्षेत्र जिम्मा लगाएको भनेर जान्नेबुझ्नेहरु बताउँछन् । सभापति थापा अहिले सर्लाही–४ बाट प्रतिस्पर्धा गर्दैछन् । सभापति थापा मधेश प्रदेश गएपछि मधेशमा पनि कांग्रेसमा थप उत्साह भएको बताइएको छ ।
सचिन तिमल्सेनाले अहिले प्रत्येक टोलमा गएर मतदाता तथा शुभचिन्तकसँग अन्तरक्रिया गरिरहेका छन् । उनले अन्तरक्रियाबाट आफू उत्साहित भएको भन्दै निर्वाचन जित्ने दाबी गरेका छन् । ‘ म झट्ट हेर्दा कांग्रेसको उम्मेदवार देखिए पनि म सबैको साझा उम्मेदवारजस्तै भएको छु, सबैले राम्रो समर्थन गर्नुभएको पाएको छु त्यसैले निर्वाचन जित्नेमा ढुक्क छु’ उनले भने ‘विकास निर्माणका कुरालाई मैले विशेष प्राथमिकतामा राखेको छु, के गर्दा यो क्षेत्रका जनताको मन बुझाउन सक्छु त्यो मलाई थाहा छ ।’ उनले उम्मेदवारी दिएपछि सिंगो कांग्रेस एकजुट भएर लागेको छ ।
उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय भएकाले आफ्ना गतिविधिसँगै आफ्ना योजना पनि जनतामाझ प्रस्तुत गर्दै आएका छन् ।‘यो क्षेत्रलाई तपाइजस्तो मान्छे चाहिएको हो भनेर जहाँ गए पनि राम्रो ‘रेस्पोन्स’ पाएको छु’ उनले भने ‘अब कांग्रेस युवाको काँधमा आएकाले पनि कांग्रेसप्रति मानिसले निकै भरोसा गरेका छन् त्यो पनि मेरो निर्वाचन जित्ने अर्को मुख्य आधार हो ।’
काठमाडौं ४ मा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडाका साथै बुढानीलकण्ठ नगरपालिका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्दछन् ।

