निर्बाचन दुई चरणमा नहुने,एकै चरणमा गर्ने कुरामा ओलीको सहमति
काठमाडौं,२२ माघ । सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने गरी तयारी तीव्र पारेको छ।

हिमाली करिब २३ वटा जिल्लामा चिसोका कारण हुन नसक्ने दलहरूको धारणाबीच सरकारले एकै चरणमा सबै ७७ जिल्लामा निर्वाचन गर्ने निष्कर्षसहित काम अघि बढाएको हो ।
बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच करिब २ घण्टा लामो वार्ताका क्रममा निर्वाचन एकै चरणमा गर्ने कुरामा सहमति भएको हो ।‘अब निर्वाचन सर्दैन । एमाले अध्यक्ष ओली पनि एकै चरणमा निर्वाचनका लागि तयार हुनु भयो’, स्रोतले भन्यो, ‘सरकारले शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी गरेर हिमाली, पहाडी र तराई मधेशका सबै जिल्लामा फागुन २१ गते नै निर्वाचन गराउने भएको छ।’
बिहीाबारको वार्तामा प्रधानमन्त्री कार्कीले ओलीसँग निर्वाचनको तयारी र देशको सुरक्षा अवस्थाबारे जानकारी गराएकी थिइन् । उनले निर्वाचनमा सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै एकै चरणमा सम्पन्न गर्ने उल्लेख गरेकी थिइन् ।
बुधबारदेखि ८० हजार सेना सडकमा निस्किएकाले शान्ति सुरक्षाको वातावरण बलियो रहेको निष्कर्षसहित उक्त तयारीलाई गति दिइएको एक सरकारी अधिकारीले बताएका छन् ।

