सोलु कांग्रेसको निर्बाचन कमान्ड सम्हाल्दै सभापति शेर्पा



सोलुखुम्बु,२१ माघ । आसन्न प्रतिनिधि सभा निर्बाचनमा जिल्लाबाट पार्टीका उम्मेदवार प्रकाश सिंह कार्कीलाई बिजयी गराउन नेपाली कांग्रेस सोलुखुम्बु एकढिक्का भएर लाग्ने भएको छ । आगामी फागुन २१ गते हुने निर्बाचनको मिति नजिकिई रहंँदा मंगलबार बसेको नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिको बिस्तारित बैठकले सो निर्णय गरेको हो।

सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न सो बैठकले निर्बाचनको परिचालनको कमान्ड सम्हाल्ने जिम्मेवारी समेत सभापति शेर्पालाई नै दिएको छ । निर्बाचन अनुगमन समिति, निर्बाचन प्रचार–प्रसार समिति , स्थानीय प्रशासन समन्वय समिति तथा निर्वाचन व्यवस्थापन सचिवालय समिति समेत गठन गर्ने निर्णय गरेको सो बैठकले निर्वाचन परिचालन मूल समितिको संयोजकको जिम्मेवारी शेर्पालाई दिने निर्णय गरेको हो।

जिल्लामा आवश्यक निर्वाचन रणनीति तय गर्नेदेखि मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न समग्र संगठनलाई परिचालन गर्ने सम्मको दायित्व प्रदान गरिएको शेर्पा नेतृत्वको सो समितिमा जिल्ला कार्य समितिका सदस्य, प्रदेश सदस्य, प्रदेश क्षेत्रीय निर्वाचन क्षेत्रका पदाधिकारी तथा गाउँपालिका सभापतिहरूलाई समेटिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

बैठकले निर्वाचन अभियानको अनुगमन, मूल्याङ्कन र आवश्यक सुझाव दिने कार्यसूची सहित पूर्बमन्त्री समेत रहेका नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका पूर्ब सदस्य बलबहादुर केसीको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय धर्म नेपाली र छिण्डील्हमू शेर्पा,पूर्ब केन्द्रीय सदस्य आङगेलु शेर्पा, पूर्व जिल्ला सभापति विनोद बस्नेत, छत्र बस्नेत र प्रभुराम बस्नेत सदस्य रहेको निर्बाचन अनुगमन समिति समेत गठन गरेको छ ।

यसैगरी,जिल्ला कार्यसमितिका उपसभापति घनराज सुनुवारको संयोजकत्वमा जिल्ला कार्य समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, कोशी प्रदेश सभा सदस्य तथा भ्रातृ संगठनका प्रतिनिधिहरू सदस्य रहने गरी निर्वाचन प्रचार–प्रसार समिति, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङको संयोजकत्वमामा नगरपालिका तथा प्रदेश समितिका कार्य सम्पादन समिति सदस्यहरू र स्थानीय तहका निर्वाचित वडा अध्यक्षहरू सदस्य रहने गरी
स्थानीय प्रशासन समन्वय समिति तथा जिल्ला सचिव युवराज घिमिरेको संयोजकत्वमा महाधिवेशन प्रतिनिधि पूजा फुयाल र राधिका श्रेष्ठ सदस्य रहने गरी निर्वाचन व्यवस्थापन सचिवालय समिति पनि गठन गरिएको सो पार्टीले जनाएको छ ।

सोलुखुम्बुमा नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रकाश सिंह कार्की र समानुपातिकतर्फ रिना उप्रेती र गीता गुरुङलाई उम्मेदवार बनाएको छ । बैठकलाई सम्बोधन गर्दै सभापति शेर्पाले जिल्लाबाट पार्टीका उम्मेदवारलाई बिजयी गराउन सबै एक ढिक्का भएर सक्रियतापूर्बक लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्