समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक,कूल ३ हजार १ सय ३५ उम्मेदवार कायम



काठमाडौं,२१ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल ३ हजार १ सय ३५ उम्मेदवार रहेका हुन् । प्रकाशित बन्द सूचीमा १ हजार ७ सय ७२ महिला र एक हजार ३ सय ६३ पुरुष उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको हो।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो । त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ ।

यस्तै, आयोगले तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि बन्दसूचीबाट हटाएको थियो । यस्तै, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिएआएका १० जनाको नाम समेत हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्