श्रम संस्कृति पार्टी सोलुखुम्बु-काठमाडौं सम्पर्क समिति पुनर्गठित,अध्यक्षमा कुमारजित
काठमाडौं,१९ माघ । श्रम संस्कृति पार्टी सोलुखुम्बुको काठमाडौं सम्पर्क समितिको पुनर्गठन तथा आगामी निर्वाचन केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति र जनसम्पर्क विस्तारका विषयमा गम्भीर छलफल गरिएको सो पार्टीका नेता महेश कुमार रानामगरले जानकारी दिए ।

कार्यक्रमबाट कुमारजित राई (नेचासल्यान) को अध्यक्षतामा २९ सदस्यीय सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित समितिमा दिपेश राई उपाध्यक्ष, भवि शंकर राई सचिव, डम्बर सिंह राई सह–सचिव तथा लोक बहादुर राई कोषाध्यक्ष चयन भएका छन्।
कार्यक्रममा सहभागी नेताहरूले श्रम संस्कृति,माटोको सम्मान, स्वशासन र जनमुखी राजनीतिलाई संस्थागत गर्दै सोलुखुम्बु तथा देशव्यापी परिवर्तनका लागि संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा काठमाडौंमा रहेका सोलुखुम्बुवासीलाई एकताबद्ध गर्दै पार्टीको संगठन विस्तार र जनआन्दोलन सशक्त बनाउने विश्वास लिइएको रानामगरको भनाई छ ।

