प्रचण्डले भिडियो सन्देश दिंदै भने-‘देशलाई सहि दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन’



काठमाडौं,१८ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौं सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन्।‘धेरैलाई लाग्न सक्छ- म र मजस्ता पुराना नेताहरू एउटै हुन्। तर म आज भन्न चाहन्छु- म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु र यो प्रमाणित गरेर छाड्नेछु,’ संयोजक प्रचण्डले भनेका छन्, ‘ मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’

इतिहासका धेरै मोडहरूमा जनतासँगै हिँडेको स्मरण गर्दै प्रचण्डले अहिलेको लडाइँ सत्ताका लागि नभई देशको भविष्य र नयाँ पुस्ताको सपनाका लागि भएको जिकिर गरे । सम्बोधनका क्रममा उनले आफ्नो जीवनलाई एउटा खुला किताबको संज्ञा दिँदै आफ्नै आँखा अगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनुपरेको पीडा पोखे ।

जीवनको अन्तिम समयमा साथ छाडेर गएकी जीवनसंगिनी र हजारौँ सहयोद्धाको बलिदानलाई स्मरण गर्दै उनले एक मानिसले जीवनमा गुमाउन सक्ने सबै कुरा आफूले गुमाइसकेको बताए । यति धेरै पीडाका बाबजुद सहिदहरूको सपना र समृद्ध नेपालको यात्राले आफूलाई अघि बढ्न प्रेरित गरिरहेको उनको भनाइ थियो ।

युवाहरूले उठाउँदै आएको भ्रष्टाचार अन्त्य, पारदर्शीता र बलियो सरकारका विषय आफूले ‘जनयुद्ध’देखि उठाएको पनि प्रचण्डको भनाइ छ।मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि अहिलेको व्यवस्थाभन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उत्तम हुने दाबी उनको छ।‘मेरो र युवाको माग समान छ। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ। खलनायक बनेर इतिहास पानामा म हराउन चाहन्न। देशलाई सहि दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्