बालेनको घरमा मुल ढोका फोरेर अज्ञात समूहको लुटपाट
काठमाडौं,१७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको छ । बालेन र उनकी धर्मपत्नी दुवैजना घरमा नभएको मौका छोपी अज्ञात समूहले निवासभित्र प्रवेश गरी धनमाल लुटपाट गरेको हो ।

शुक्रबार साँझ शाहका आफन्त (मामा ससुराका छोरा) नियमित रेखदेखका लागि घर पुग्दा चोरी भएको रहस्य खुलेको थियो । घरमा बत्ती बाल्ने र बिरुवामा पानी हाल्ने जिम्मेवारी पाएका उनी हिजो साँझ मण्डिखाटार पुग्दा निवासको मूल ढोका फोडिएको अवस्थामा फेला परेको थियो । भित्र सामानहरू तितरबितर भएको र लुटपाट भएको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार, चोरहरूले अत्यन्तै ‘प्रोफेसनल’ शैली अपनाएको देखिएको छ । चोरी गर्ने क्रममा आफ्नो पहिचान खुल्न सक्ने डरले उनीहरूले घरमा जडान गरिएका २-३ वटा सिसीटिभी क्यामेरा र फुटेज रेकर्ड हुने डीभीआर मेसिनसमेत उखेलेर लगेका छन् । यसका साथै, घरका बाथरुम र भान्सामा जडान गरिएका महँगा धाराका टुटीहरू समेत चोरी भएको प्रहरीले जनाएको छ । अन्य के-कस्ता बहुमूल्य सामानहरू हराएका छन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गरे । उनकाअनुसार इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ । अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीको प्रारम्भिक विश्लेषण अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र छिरेका थिए । उक्त घटना माघ १४ गतेदेखि १७ गते साँझको समयभित्र भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर प्राविधिक पक्षहरूको अध्ययन गरिरहेको छ भने शंकास्पद व्यक्तिहरूको खोजी कार्यलाई तीव्र पारेको छ ।

