२३ वर्षीया श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौं,१६ माघ । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा ३० वर्षीय विनादे पाख्रिनले आफ्नी श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेका छन्। हत्या गरेपछि उनी आफैं टिकाभैरव प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, मृतकको शव खाटमा सुताएको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार दुवै जनाले मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि भएको विवादका कारण विनादे पाख्रिनले चिर्पट प्रयोग गरी श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना शुक्रबार बिहानको भएको बताइएको छ। हत्यापछि आरोपीले प्रहरीमा गएर खुलेर “मैले श्रीमती हत्या गरेँ” भनी बताएका थिए। प्रहरी अहिले घटनास्थलमा अनुसन्धान गर्दैछ र कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ ।

