ओखलढुंगा एमालेमा ठुलो पहिरो,जिल्ला कमिटी अध्यक्षसहितको ठुलो समूह नेकपामा
काठमाडौं,९ माघ । नेकपा एमाले ओखलढुंगामा ठुलो पहिरो गएको छ । टिकट विवादका कारण जिल्ला नेता अम्बिरबाबु गुरुङले एमाले परित्याग गरी माघ ६ गते नेकपाबाट उम्मेदवार बनेपछि उनकै कारण एमालेमा पहिरो गएको हो।गुरुङपछि उनी निकट मानिने जिल्ला कमिटी अध्यक्ष लगायतको ठुलो समूह आज नेकपा प्रवेश गरेको छ ।

काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतले उनीहरूलाई पार्टी प्रवेश गराए ।
कार्यक्रममा ओखलढुंगा एमालेका अध्यक्ष ज्ञानबहादुर खड्का,उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा किसान, उपसचिव राजिव कटुवाल, प्रदेश कमिटी सदस्य सुरेश थापा, जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्कालगायत तीन दर्जन नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नुअघि उनीहरूले शुक्रबारै काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरूले नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार घोषणाको विषयलाई लिएर ओखलढुंगा एमालेमा विवाद थियो । पार्टीको जिल्ला कमिटीले टिकटका लागि सिफारिस गरेका व्यक्तिहरू अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार लगायतलाई पन्छाएर सिफारिस नै नभएकी अस्मिता थापाले टिकट पाएपछि जिल्लाका अधिकांश नेता आक्रोशित थिए ।

