निर्बाचन आयोगमा कल सेण्टर स्थापना,एकै पटक १५ जनासम्मले फोन गर्दा होल्ड नहुने



काठमाडौं,७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

छ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यसैबीच,निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए ।

उनले आयागमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिए । निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उनको भनाइ छ । उनकाअनुसार आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ ।

उनले निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेद्वार र मतदाता सबैले पालना गर्नुपर्ने बताए । उनले उम्मेद्वारी मनोनयनका क्रममा मंगलवार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्दै ती कार्य आयोगको नोटिसमा रहेको बताए । उनले आचारसंहिता कार्यान्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्