प्रतिनिधिसभा निर्बाचनका लागि उम्मेदवारी दर्ता आज, तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह



काठमाडौं,६ मंसिर । प्रतिनिधिसभा अन्तर्गत आउँदो फागुन २१ मा हुने चुनावका लागि आज १ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ । सबै निर्वाचन क्षेत्रमा एकै दिन मनोनयन दर्ता हुन लागेको हो ।मनोनयनका क्रममा तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह गरेको छ ।

प्रमुख राजनीतिक दलहरूले धेरैजसो निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । केही विवादित क्षेत्रका उम्मेदवार आज बिहानसम्म टुङ्ग्याउने कांग्रेसलगायतका दलको तयारी छ । शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । टिकट पाएका अरू धेरैजसो उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

आचारसंहिता लागू भइसकेको र यसको पालना गर्न आयोगले सूचित गरेको छ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । लगत्तै बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । भोलि दिउँसो ३ बजेदेखि पर्सि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको छ ।

शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । शुक्रवार नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । आउँदो फागुन २१ गतेका दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्