भक्तपुर-२ मा बस्नेतसंग भिड्दै खत्री



काठमाडौँ,५ माघ। भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने भएको छ।

खत्रीले सुरुमा काठमाडौँ क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिने तयारी गरेका थिए। तर पार्टीको निर्णयअनुसार उनलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउने टुंगो लागेको हो।

जेन–जी आन्दोलनपछि महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। सोही पृष्ठभूमिमा मेयर साहले ‘जसरी पनि बस्नेतलाई हराउने’ रणनीतिअन्तर्गत खत्रीलाई अघि सार्न चाहेको बुझिएको छ। खत्री पेशाले पूर्व सञ्चारकर्मी हुन्।

यसअघि सामाजिक सञ्जालमा बस्नेत र खत्रीबीच पटक–पटक वाकयुद्ध हुँदै आएको थियो। खत्रीले बस्नेतविरुद्ध तीखा टिप्पणी गर्दै आएका छन् भने बस्नेतले पनि खत्रीको नामै लिएर जवाफ दिने गरेका छन्। उनीहरूबीचको यही कटुताले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

भक्तपुर–२ बस्नेतको परम्परागत निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौँ–१० का बासिन्दा हुन्। गत आम निर्वाचनमा बस्नेत पराजित भएका थिए। खत्री भने हालै राजनीतिमा सक्रिय भई पहिलोपटक चुनावी मैदानमा उत्रन लागेका हुन्।

खत्रीले काठमाडौँ–१० बाटै उम्मेदवारी दिने इच्छा पार्टीमा राखेका थिए। तर पार्टी सभापति रवि लामिछाने र मेयर बालेन्द्र साहसँगको छलफलपछि उनलाई भक्तपुर–२ पठाउने निर्णय भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्