प्रत्यक्ष तर्फका उमेदवारको टुंगो लगाउने अन्तिम तयारीमा कांग्रेस



काठमाडौं,४ माघ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उमेदवारको टुंगो लगाउने अन्तिम तयारी गरेको छ ।

कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेका बेला विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले उमेदवारको टुंगो लगाउन लागेको हो ।त्यसका लागि शनिबार केन्द्रीय समिति बैठकले संसदीय बोर्ड बनाएको थियो ।

“संसदीय बोर्ड बनेको छ, बोर्डको बैठकले सबैलाई न्याय हुनेगरी टिकट वितरणको निर्णय गर्नेछ,” कांग्रेस प्रवक्ता देवराज चालिसेले भने । प्रवक्ता चालिसेले पनि सबैसँग वार्ता भइरहेको बताए । “छलफल चलिराख्या छ,” उनले भने,“हामीले सबैलाई न्याय हुनेगरी नै लैजाने हो । कसैप्रति पूर्वाग्रह हुँदैन ।” उनका अनुसार पार्टीको हितलाई प्राथमिकतामा राख्ने उमेदवारका विषयमा अहिले बोर्डभित्र छलफल भइरहेको बताए ।

“हामी अहिले कुनै गुटको आधारमा हेर्दै छैनौँ,” उनले भने, “पार्टीको हितलाई केन्द्रमा राख्ने व्यक्तिलाई टिकट दिन्छौँ ।”

प्रतिक्रिया दिनुहोस्