थुलुङ दुधकोशीको बर्खुघाटमा बेलिबृज बन्ने,अध्यक्ष राईले गरे शिलान्यास
सोलुखुम्बु,२ माघ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ५ आवागमन सहज बनाउने उद्देश्यले दुधकोशी नदीको बर्खुघाटमा बेलिबृज निर्माण गरिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४,५ र ९ लाई बाह्रै महिना गाउँपालिका केन्द्र तथा सदरमुकामसहित राजधानीसम्म जोड्नका लागि समेत अत्यावश्यक रूपमा रहेको सो बेलिबृज निर्माणको शिलान्यास गाउँपालिका अध्यक्ष अशिम राईले शुक्रबार गरेका छन् । कोशीपारीका नागरिकको सहजताको लागि विशुद्ध गाउँपालिकाको योजना अनुसार बेलिबृज निर्माण गर्न लागिएको जानकारी दिंदै अध्यक्ष राईले निर्माण कार्य सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
१२ करोड बढीको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो बेलिबृज निर्माणका लागि गाउँपालिका र दुधकोशी हाईड्रोपावरको संयुक्त लगानी रहने गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई,प्रवक्ता तथा ७ नम्बर अध्यक्ष भोजराज कार्की, वडा नम्बर ४ का अध्यक्ष श्याम कुमार गुरुङ ५ का अध्यक्ष चन्द्रबहादुर राई र ९ का अध्यक्ष शनकुमार तामाङ,प्राविधिक कर्मचारीसहित कार्यपालिका सदस्य , निर्वाचित जनप्रतिनिधि र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

