प्रतिनिधि चयन विवादले एमाले मुख्यालयमा तनाव
काठमाडौं,१९ मंसिर । नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुगेका कार्यकर्ताबीच शुक्रबार भनाभन र धकेलाधकेल भएको छ।

आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू प्रतिनिधि चयनमा भेदभाव भएको आरोप लगाउँदै पार्टी कार्यालय पुगेपछि संगठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद चर्किएको थियो। सो क्रममा कार्यालयमा रहेका दुई पक्षका कार्यकर्ताबीच तनाब बढ्दै धकेलाधकेलसम्म पुगेको हाे ।
एमालेमा प्रतिनिधि छनोटका विषयमा ओखलढुङ्गा, धनकुटा, दाङलगायत ठाउँहरूमा पनि असन्तोष र विवाद बढ्दो छ। महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक प्रक्रिया निष्पक्ष नभएको आरोप उठिरहेका बेला केन्द्रसम्म विवादको लहर पुगेको हो।

