राष्ट्रिय झण्डामा एकजुट भएर २३ गतेको बृहत जनप्रदर्शनमा सहभागी हौं : शाही
काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरको वृहत प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कमाण्डर समेत रहेका प्रवक्ता शाहीले २३ गते पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलन भएको भन्दै सबैलाई सहभागी हुन आव्हान गरेका हुन्। उनले भने, ‘२३ मंसिरमा सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो । तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला ।’
नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनले बताए ।जेनजी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ । उनले भने, ‘जेनजी युवाहरूले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।
राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग राप्रपाको रहेको उनले बताए ।
उनले देशको संविधान, कानुन र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेनजी र राजनीतिक दलहरूले त्रिपक्षीय सम्झौता गर्न आह्वान गरे । माग पूरा नभए सडक आन्दोलन सुरु हुने उनको भनाइ छ ।

