गार्मा माबिमा आधुनिक बालमैत्री भवन बन्दै,नगरप्रमुख शेर्पाद्वारा शिलान्यास
सोलुखुम्बु,१५ मंसिर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित गार्मा माध्यमिक विद्यालयमा आधुनिक बालमैत्री भवनको शिल्यान्यास गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र दातृ संस्था ‘क्लासरुम्स इन द क्लाउड्स नेपाल’को करिब साढे ५ करोड रुपैयाँको संयुक्त लगानीमा निर्माण हुने सो भवनको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहेका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सोमबार शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रमलाई बोल्दै मेयर शेर्पाले शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यक सबै कदम चाल्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै जिल्लाकै नमुना विद्यालयका रूपमा रहेको गार्मा माविमा निर्माण हुन लागेको भवन पनि अब्बल र अत्याधुनिक हुने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा उपमेयर गान्धी माया तामाङले भवन निर्माणको काममा निरन्तर अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।
यस्तै कार्यक्रममा क्लासरुम्स इन द क्लाउड्स नेपालका अध्यक्ष दावा ग्याल्जेन शेर्पाले नगरपालिका र विद्यालयसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै नयाँ भवनको प्रभावकारी उपयोग र व्यवस्थापन विद्यालयको प्रमुख जिम्मेवारी हुने बताए।
वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार भवनमा छ वटा सुसज्जित कक्षाकोठा, प्राविधिक मापदण्डअनुसारको शौचालय, पिउने पानीको सुविधा तथा शिक्षण–सिकाइ सहज बनाउने थप आवश्यक भौतिक संरचना समावेश गरिनेछ ।

