राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक



काठमाडौं,१५ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।

बैंकले आज सोमबार सार्वजनिक गरेको समीक्षामा मूल्य तथा बाह्य क्षेत्रको स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको उल्लेख छ ।

विगतमा राष्ट्रिय राजनीतिमा उत्पन्न भएको नयाँ परिस्थिति, विशेषगरी जेठ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा त्यसबाट सृजित असहज परिस्थितिको मानविय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै, सरकारले सुशासन प्रवर्द्धनन, क्षतिको पुनर्निर्माण र निजी क्षेत्रमैत्री नीतिगत सहजतामा जोड दिएको छ । यसैअनुरूप, केन्द्रीय बैंकले आर्थिक क्रियाकलाप विस्तार गर्न नियामकीय लचकता कायम गरेको विश्वास लिएको छ ।

समीक्षाले मौद्रिक नीतिको कार्यान्वयनको स्थिति, आन्तरिक तथा बाह्य आर्थिक अवस्था र समष्टिगत आर्थिक परिदृश्यको आधारमा आगामी कार्यदिशाका लागि केही महत्वपूर्ण नीतिगत परिमार्जनहरू गरेको छ ।

समग्रमा, यस त्रैमासिक समीक्षामा गरिएका व्यवस्था तथा मौद्रिक नीतिको कार्यान्वयनबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्रको स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

समीक्षामार्फत लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। निक्षेप संकलन दर भने २.७५ प्रतिशतमा यथावत राखिएको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइएको छ। अब यस्तो कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ कायम गरिएको छ।

यसैगरी बैंकले बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने बाध्यात्मक व्यवस्था खारेज गरेका छन्।

प्रतिक्रिया दिनुहोस्