प्रतिनिधि सभा निर्बाचनका लागि देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम



काठमाडौं,१४ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको छ।

मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले मतदानस्थलहरूको पुनरावलोकन गर्नेक्रममा नयाँ मतदानस्थल थप गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बसेको बैठकले अपायक परेका,भौतिक संरचना जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा पुराना मतदानस्थल खारेज गर्ने निर्णय समेत गरेको छ।यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेकोमा १६८ थप र ९३ खारेज हुँदा समग्रमा ७५ वटा मतदानस्थल बढेका छन्। योसँगै अब देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम भएका छन्।

पुनरावलोकनका क्रममा आयोगले मतदानस्थलको नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा सार्ने तथा साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कामहरू पनि सम्पन्न गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्