महाधिवेशनमा सर्वसम्मति हुन नसके प्रतिस्पर्धात्मक मतदान अनिवार्य : अध्यक्ष ओली
काठमाडौँ,१४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको आगामी महाधिवेशनमा प्रतिस्पर्धात्मक मतदान हुने बताउनुभएको छ।

आइतबार एमाले महाधिवेशन प्रचार समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै उहाँले सर्वसम्मति हुन नसके प्रतिस्पर्धात्मक मतदान अनिवार्य हुने बताउनु भएको हो।महाधिवेशन पुनःगठन,पुनः संरचना,रुपान्तरण र पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गर्दै वहाँले एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न आग्रह गर्नुभयाे।
ओलीले भन्नुभयाे, “सर्वसम्मतिको नाममा भावनात्मक काम गरिँदैन। रोक्ने–सोक्ने काम हुँदैन,प्रतिस्पर्धा हुन्छ। एमालेमा डेमोक्रेसी छैन, चुनावै लडेन,कसैलाई चुनाव लड्न दिएन भनेर पनि भन्छन्। यो आरोप तथ्य होइन।”
महाधिवेशनमा संगठनात्मक विषय,राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताउनुभयो। विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भएता पनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पार्नुभयो। उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उहाँको आह्वान छ।
उहाँकाे अनुसार पार्टीभित्र एकता महत्वपूर्ण भएकाले टिकाटिप्पणी, होच्याउने वा अपमान हुने गतिविधि रोक्नु आवश्यक छ। “मेरो आग्रह छ, एकताबद्ध भएर जाऔँ। एकअर्कालाई होच्याउने र खुइल्याउने काम किन गर्ने?” ओलीले प्रश्न गर्नुभयाे।

