एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा हुने
काठमाडौँ, १० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारी र
बन्दसत्र भृकुटीमण्डपमा गर्ने भएको छ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकले सो निर्णय गरेको हो। बैठकमा हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गठित समितिको प्रतिवेदनमाथि छलफल भएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो ।
यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ ।

