एकीकृत भए नेपाली जनता दल र जनयुग पार्टी : राष्ट्रिय अध्यक्षमा साह,कार्यकारी अध्यक्षमा सुबेदी
काठमाडौं,६ मंसिर ।हरिचरण साह नेतृत्वको नेपाली जनता दल र नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी एकीकृत भएका छन् ।

काठमाडौंमा शनिबार आयोजित बिशेष कार्यक्रममा पार्टीको नाम नेपाली जनता दल र चुनाव चिन्ह सिठ्ठी रहने गरी दुई दलबीच एकीकरण भएको घोषणा गरिएको छ ।नेपाली जनता दलले प्रयोग गर्दै आएको विधान अनुसारको झण्डामा चक्रको सट्टामा सिट्ठी छाप रहने सहमति सहित पार्टी दुई पार्टी एकीकृत गरिएको एकीकरण घोषणापछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।
पार्टीको विधानअनुसार राष्ट्रिय अध्यक्ष हरिचरण साह र कार्यकारी अध्यक्ष नवराज सुवेदी रहने गरी दुई पार्टी बीच विभिन्न पाँच बुँदे समझदारी भएको राष्ट्रिय अध्यक्ष साहले जानकारी दिए। साहका अनुसार दुवै पार्टीको एकीकरण गरी केन्द्रीय समितिको पदाधिकारीको कार्यविभाजन गरी बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यसहित ६३ सदस्यीय केन्द्रीय समिति रहने र पार्टीको संरचनामा केन्द्रीय समिति, केन्द्रीय कार्यसम्पादन समिति, वैकल्पिक सदस्यहरु, सल्लाहकारहरु रहनेछन्।
केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, स्थानीय तहहरुसहित चार तहका समिति रहने सो एकीकृत पार्टी सामूहिक नेतृत्व र लोकतान्त्रिक विधिबाट सञ्चालन हुने उनले बताए ।
जनताको अधिकार र कर्तव्यलाई एकीकृत गर्दै नेपाली सभ्यतामा आधारित मौलिक समाजवाद, प्रकृतिवाद र वैज्ञानिक मानवतावाद एकीकृत पार्टीको सिद्धान्त रहेको जानकारी दिँदै कार्यकारी अध्यक्ष सुबेदीले भने- ‘देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमत्ता, अखण्डता, गणतन्त्र र जनअधिकारको रक्षा गर्दै शान्ति, समृद्धि, सुशासन, पारदर्शिताका लागि विभेदहरुको उन्मूलन, प्रत्येक नागरिकको व्यक्तित्व विकास, उद्यमशीलता, रोजगारी, पूँजी निर्माण गरी प्रत्येक व्यक्तिको गुणस्तरीय जीवनको ग्यारेन्टी गर्नु पार्टीको उद्देश्य छ।’
देशको विकासको आवश्यकता, समृद्धि, नेपाली जनताको आशा, आकांक्षा र चाहिना विपरीत विगतमा सत्तासीन दलहरुबाट भएका अन्याय, अत्याचार, कुशासन, भ्रष्टाचार, अनियमितताका कारण आन्दोलित भएको नेपाली जनताको न्यायपूर्ण आवाज नवयुवा (जेन-जी) आन्दोलनमार्फत् मुखरित भई नयाँ राजनीतिक परिस्थितिको निर्माण भएको जनाउँदै एकता घोषणा सभापछि आयोजित पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तिमा नेपाली समाजको समावेशी विशिष्टतालाई ध्यान दिदै जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनीतिक, सामाजिक, सांस्कृतिक विचार, भूगोल, उत्पत्ति, जन्म वा अन्य कुनै आधारमा गरिने सबै प्रकारका शोषण, अन्याय, अत्याचार, विभेदहरुको अन्त्य गर्दै मानव जातिको समग्र विकास गरी गुणस्तरीय जीवनको लागि देशको राजनीतिक आन्दोलनलाई अगाडि बढाउन नेपाली जनता दल र जनयुग पार्टी एकीकृत भएको उल्लेख गरिएको छ ।
‘पञ्चशीलमा आधारित विदेश नीति,जुनसुकै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान, अहस्तक्षेप, समानता, पारस्परिक नाम, शान्तिपूर्ण सहअस्तित्व र अनाक्रमणको नीति रहने छ,दुई पार्टी बीच भएको सहमतिको अर्को बुँदामा भनिएको छ-‘मानवलगायत सम्पूर्ण प्राणीजगत र वातावरणको संरक्षण, नेपाली सभ्यताको विकास गर्दै प्रत्येक नागरिकलाई स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूति गराउन निरन्तर संघर्षशील रहने छ ।’
नैतिक र गतिशील मूल्य र मान्यतामा आधारित सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृक्तिक संघर्षहरुको सञ्चालन गरिने नीति लिएको सो पार्टीले जनचेतनामा आधारित छलफल, अन्तरक्रिया, भेटघाट, प्रचारप्रसार, ज्ञापनपत्र, सामाजिक सञ्जालको माध्यम प्रयोग आदि मार्फत् आम जनता समक्ष पुग्ने कार्यक्रमहरु सञ्चालन गर्ने जनाईएको छ ।
नेपाली जनता दलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरि तयारी अघि बढाएको राष्ट्रिय अध्यक्ष साहले जानकारी दिए ।
हाल झण्डै ५० वटा जिल्लामा पार्टीको संगठन रहेको जानकारी दिंदै कार्यकारी अध्यक्ष सुबेदीले निर्बाचन अघि सबै जिल्लामा पार्टी बिस्तार गरेर सबै क्षेत्रमा उम्मेदवारी दिने गरी पार्टी अघि बढ्ने बताए । राष्ट्रियताका सवालमा दलहरूबीच समान धारणा नभएकै कारण बिदेशी शक्तिहरुले खेल्ने ठाउँ पाएको बताउंदै उनले यसको अन्त्यका लागि दलहरू राष्ट्रियताका मामिलामा गम्भीर हुनुपर्ने धारणा राखेका थिए।

