मधेस प्रदेशमा एमालेलाई ठुलो धक्का लागेको भन्दै योगेशले गरे अध्यक्ष ओलीलाई गम्भीर भएर सोच्न आग्रह
काठमाडौँ,४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा नेकपा एमालेलाई ठुलो धक्का लागेको बताएका छन् । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठ्नु राम्रो नभएको उनले बताए ।

सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– ‘आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री पद अदालतको कठघरामा छ । राजनीतिक रूपमा हामी एक्लिएका छौ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?’
भट्टराई थप लेख्छन्–’मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कस्ले र केका लागि खेलवाड गरियो ? यि तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर बिचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’
उनले विगतमा निकै मेहनत गरेर मधेसमा एमालेलाई पहिलो पार्टी बनाएको पनि स्मरण गरेका छन् ।

