कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्नु आवश्यक : कांग्रेस केन्द्रीय सदस्य शेर्पा
काठमाडौं,२ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले पार्टीभित्र आवश्यक संरचनात्मक र वैचारिक रूपान्तरणबाट भाग्न खोज्ने नेतृत्व र कार्यशैलीले अब देशमा परिवर्तन ल्याउने नसक्ने बताएका छन् ।

झण्डै पाँच साता अघि सुरु भएको पार्टी केन्द्रीय समिति बैठक महाधिवेशनको बिषयलाई लिएर अनिर्णयको बन्दी बनिरहेका बेला केन्द्रीय सदस्य शेर्पाले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन्। कांग्रेसले समसामयिक राजनीतिक वातावरण बुझेर पार्टीलाई नयाँ पुस्ताको आकांक्षा,शासन प्रणालीमा देखिएको कमजोरी र राष्ट्रिय समस्याका चुनौतीअनुसार पुनर्संरचना गर्नुपर्ने आवश्यकता टारे कांग्रेसले आगामी दिनमा जनविश्वास गुमाउँदै जाने उनले बताउँदै आएका छन् ।
हालैका दिनमा कांग्रेसभित्र तीव्र रुपमा उठ्दै आएका असन्तुष्टि, संगठनभित्रको निष्क्रियता,वैचारिक अस्पष्टता र नेतृत्वगत अनिर्णयका सन्दर्भमा शेर्पाको टिप्पणीलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टी केन्द्रीय समितिमा निरन्तर उठ्दै आएका आन्तरिक सुधारका प्रस्तावहरू कार्यान्वयन हुन नसक्नु,आगामी महाधिवेशनको तयारीमा देखिएको ढिलाइ र राष्ट्रिय राजनीति प्रभावहीन बन्दै गएको कांग्रेसको भूमिकाले कार्यकर्तामाझ बेचैनी बढिरहेका बेला उनले परिवर्तनलाई “समयको आदेशका रूपमा बुझ्नुपर्ने रहस्य खबरलाई बताए ।
सामाजिक–आर्थिक संक्रमणबाट गुज्रिरहेको जेन–जी पुस्ताको राजनीतिक चेतना तीव्र रुपमा बढिरहेको र सडकदेखि संसदीय राजनीति सबै क्षेत्रमा उत्तरदायित्वको नयाँ मानक स्थापित भइरहेको वर्तमान अवस्थामा कांग्रेस पुरानै ढर्रामा अडिन नसक्ने उनको छ। उनले यस्तो संवेदनशील घडीमा पार्टीले आत्मसमीक्षा,संगठनात्मक पुनःसंरचना,वैचारिक स्पष्टता र नेतृत्वगत निर्णाय क्षमता बढाउन सके मात्र देशले कांग्रेसबाट सकारात्मक परिवर्तनको आशा गर्ने बताए ।
कांग्रेसभित्र सुधारका एजेन्डा उठिरहेका भए पनि आन्तरिक संवादका माध्यमबाट व्यवहारमा परिणत गरेर ठोस कार्ययोजना सार्वजनिक गर्न सकेमात्रै पार्टीको विश्वसनीयता बढ्ने केन्द्रिय सदस्य शेर्पाको बुझाई छ।

